काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ निक्षेप तान्ने तयारी गरेको छ। लगातार उच्च तरलता कायम रहेपछि केन्द्रिय बैंकले बोलकबोलमार्फत फेरि निक्षेप संकलन गर्ने भएको हो। हाल कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
केन्द्रिय बैंकले वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापन र ब्याजदर सन्तुलनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत नियमित तरलता तान्दै आएको छ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिई आह्वान रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
आजको बोलकबोल अनलाइन प्रणालीमार्फत हुनेछ र ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण गरिनेछ। आह्वान गरिएको निक्षेपको सावाँ तथा ब्याज भुक्तानी माघ १८, २०८३ मा हुने राष्ट्र बैंकले जानकारी दिएको छ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था रहेको छ।
केन्द्रिय बैंकको खुला बजार कारोबार कार्यविधि अनुसार, वित्तीय बजारमा दीर्घकालीन अधिक तरलता देखिएमा बजार ब्याजदर व्यवस्थित गर्न ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही व्यवस्थाअन्तर्गत नेपाल राष्ट्र बैंकले पटकपटक निक्षेप संकलन गर्दै आएको छ।