काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन् ।
बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतबाट गत चैत २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थप गरिएको छ ।
उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। तर, अहिराजले पनि ती महिलाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी दिएका छन्।
काठमाडौँ प्रहरीले अहिराजलाई कानुनी कारबाहीका लागि अदालतबाट यसअघि नै पक्राउ पुर्जी लिएको थियो।
घटना २०८१ जेठ ४ गतेको भएको प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध गत माघ ३ गते जाहेरी दर्ता भएको थियो। प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।