काठमाडौं । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले शनिबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर)मा ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दलको सुरुवातको घोषणा गरेका छन् । यसले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ ।
मस्कले आफ्नो शक्ति प्रदर्शन गर्दै डेमोक्रेट र रिपब्लिकन दलहरूका लागि नयाँ चुनौती प्रस्तुत गर्न लागेका हुन् । मस्कले भनेका छन्– आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस् ।
पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन ।
मस्कले ४ जुलाई अमेरिकाको स्वतन्त्रता दिवसमा एक्समा एउटा पोल पोस्ट गरे । यसमा उनले सोधे, ‘के तपाईं दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिकालाई पार्टी बनाउनुपर्छ ?’ पोलको नतिजामा ६५.४ प्रतिशतले ‘हो’ र ३४.६ ले ‘होइन’ मतदान गरे ।
मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ‘बिग ब्यूटीफुल बिल’लाई लिएर चर्को बहस भएको थियो ।
रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मस्क सरकारी खर्च कटौती सम्बन्धी निकायको प्रमुखको पदमा नियुक्त भएका थिए । तर, पछि ट्रम्पसँगको आन्तरिक विवादका कारण मस्कले सो पद त्यागेका थिए ।