काठमाडौं । अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँगको छलफलपछि यस्तो जानकारी दिएका हुन् ।
जेलेन्स्कीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी प्रतिनिधिहरूसँग करिब डेढ घण्टा विस्तृत छलफल भएको र त्यस क्रममा तीन देशबीच आगामी कूटनीतिक वार्ताको तयारीबारे कुराकानी भएको बताएका छन् ।
‘हामी युक्रेन, अमेरिका र रुसबीच कार्यदलस्तरमा त्रिपक्षीय वार्ताको तयारी गरिरहेका छौँ । यो वार्ता एक साताभन्दा कम समयभित्र हुनेछ,’ उनले लेखेका छन् ।
उनका अनुसार युक्रेनको युद्धपछिको पुनर्निर्माणका विषयमा ब्रसेल्समा युक्रेन, अमेरिका, युरोपेली संघ, फ्रान्स, बेलायत, जर्मनी, नेटो, विश्व बैंक तथा अन्तर्राष्ट्रिय व्यावसायिक क्षेत्रका प्रतिनिधिबीच पनि छलफल भएको छ । युक्रेनको सुरक्षा प्रत्याभूतिका विषयमा छलफल गर्न शुक्रबार ब्रसेल्समा अर्को बैठक तय भएको उनले जानकारी दिएका छन् ।
जेलेन्स्कीले युद्ध अन्त्यका लागि कूटनीतिक वार्तालाई तीव्रता दिनुपर्ने बताउँदै युक्रेन आवश्यक कदम चाल्न तयार रहेको उल्लेख गरेका छन् । यससम्बन्धी प्रस्ताव अमेरिकी पक्षलाई बुझाइसकेको पनि उनले बताएका छन् ।
अमेरिकी प्रतिनिधिसँगको छलफलमा हवाई प्रतिरक्षा प्रणालीको विषयलाई समेत प्राथमिकता दिइएको थियो । विशेषगरी रुसी आक्रमणबाट सर्वसाधारणको ज्यान जोगाउन प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टर उपलब्ध गराउन उनले आग्रह गरेका छन् ।
युक्रेनले अमेरिकासँग प्रस्तावित ड्रोन सम्झौताको ढाँचामा द्विपक्षीय सहकार्यलाई पनि निरन्तरता दिन चाहेको जेलेन्स्कीले बताएका छन् । युद्धपछिको सुरक्षा प्रत्याभूति बलियो र विश्वसनीय हुनुपर्नेमा उनले जोड दिएका छन् ।
यसअघि अमेरिकी विशेष दूत विटकफले नोभेम्बर १० र ११ मा अबुधाबीमा युक्रेन र रुसबीच कार्यदलस्तरको वार्ता गराउने अमेरिकी तयारी रहेको बताएका थिए । उक्त वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण, मानवीय सहायता तथा शान्ति सम्झौताका लागि आवश्यक कदमबारे छलफल हुने बताइएको छ ।
यद्यपि, वार्ताको तयारी भइरहँदा युक्रेनमाथि रुसी आक्रमण भने जारी छ । जेलेन्स्कीका अनुसार नोभेम्बर ३ मा युक्रेनका विभिन्न क्षेत्रमा भएका रुसी आक्रमणमा कम्तीमा २९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
उनका अनुसार उक्त आक्रमणमा रुसी सेनाले २८९ ड्रोन, १७ ब्यालिस्टिक क्षेप्यास्त्र र ५९ क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणको मुख्य निशाना ऊर्जा पूर्वाधार, विद्युत् उत्पादन केन्द्र र सबस्टेसन बनेका थिए ।
आक्रमणका कारण ओडेसा, चेर्कासी, झितोमिर, भिनित्सिया, खार्किभ, डिनिप्रो, चेर्निभ्त्सी, चेर्निहिभ र रिभ्ने क्षेत्रमा विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको जेलेन्स्कीले बताएका छन् । एएनआई