आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विद्याको कमब्याक : एमालेमा तरंग, नागरिकमा लोकतान्त्रिक संस्थाप्रति निराशा

सोमबार, असार १६ २०८२

काठमाडौं । नेपालको राजनीतिक वृत्तमा समयसमयमा केही व्यक्तित्वहरूको पुनरागमनले ठूलो चर्चा र तरंग ल्याउने गरेको छ। हालैको परिप्रेक्ष्यमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय उपस्थितिले विशेषगरी नेकपा (एमाले) भित्र तरंग र हलचल ल्याएको देखिन्छ।

पूर्वराष्ट्रपतिका रूपमा संवैधानिक मर्यादामा सीमित रहेकी विद्याको पुनः राजनीतिक सक्रियता, विशेष गरेर एमाले नेताहरूसँगको बढ्दो सम्पर्क र अभिव्यक्तिले नयाँ तरंग सिर्जना गरेको हो।

राष्ट्रपति पदबाट अवकाश पाएपछि केही समय राजनीतिक पृष्ठभूमिमा रहेकी विद्याले पछिल्ला दिनमा विभिन्न सामाजिक, राजनीतिक तथा धार्मिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएकी थिइन्।  त्यतिमात्र होइन उनले गत शनिबार एमालेमा फर्किएर सक्रिय राजनीतिमा होमिएको घोषणा नै गरिन् ।

एमालेभित्र अहिले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पकड बलियो देखिए पनि दोस्रो तहका नेताहरूबीच असन्तोष र अवसरको खोजी चलिरहेको छ। विद्याको पुनः सक्रियताले यिनै नेताहरूमा नयाँ ऊर्जा वा वैकल्पिक नेतृत्वको आकांक्षा पनि जगाएको हुनसक्छ। खासगरी पार्टीको नेतृत्व उत्तराधिकारबारे चर्किंदै गएको बहसमा विद्याको आगमनले नयाँ समीकरण जन्माउने अनुमान गरिएको छ।

केपी ओली र विद्यादेवी भण्डारीबीच विगतमा निकै बलियो राजनीतिक सम्बन्ध रहँदै आएको थियो। राष्ट्रपति हुँदा उनले ओलीको धेरै निर्णयहरूलाई समर्थन गरेकी थिइन्, जसले कार्यपालिका–राष्ट्रपतिबीचको सन्तुलनमाथि प्रश्न उठेको थियो। अहिले उनी फेरि सक्रिय भएपछि ओली स्वयं असहज महशुस गरिरहेको आन्तरिक स्रोतहरूले जनाउँछन्। के विद्याको कमब्याक ओलीको विकल्पको सम्भावना हो ? कि उनको शक्ति पुनः प्रयोग गर्ने ओलीकै योजना ? यी प्रश्नहरूले एमाले भित्रको बहसलाई अझै गहिरो बनाएको छ।

विद्याको कमब्याक केवल व्यक्तिगत चाहना होइन, सत्ताको समीकरणमा फेरबदल ल्याउने रणनीतिक पाइलाको रूपमा पनि विश्लेषण भइरहेको छ। आगामी निर्वाचनमा उनको भूमिका, उनी समर्थित कुनै गुट वा गठबन्धनको निर्माण, वा पार्टी पुनर्संरचनाजस्ता बिन्दुहरू आगामी दिनमा स्पष्ट हुँदै जानेछ।

भण्डारीको राजनीतिक पुनरागमनले नेपाली राजनीतिमा विशेष गरेर एमाले भित्र नयाँ तरंग ल्याएको छ। यो तरंग अस्थायी हो वा सशक्त धार बन्नेछ भन्ने कुराको उत्तर निकट भविष्यले दिनेछ। यद्यपि, एक कुरा निश्चित छ—विद्याको उपस्थितिले एमाले मात्र होइन, समग्र वाम राजनीति नयाँ मोडमा प्रवेश गर्न लागेको चर्चा छ ।

नेपालको लोकतान्त्रिक संविधानले राष्ट्रपतिको पदलाई एक गैरदलीय, निष्पक्ष र मर्यादित संस्थाको रूपमा परिकल्पना गरेको छ। यस्ता संवैधानिक पदमा बसेका व्यक्तिले पदावधिपछि पनि त्यो मर्यादाको रक्षा गर्नु स्वाभाविक अपेक्षा हो। तर, पूर्वराष्ट्रपति भण्डारीको पछिल्लो समय देखिएको राजनीतिक सक्रियता र नेकपा एमालेसँगको सामीप्यले लोकतान्त्रिक परिपाटीमा गम्भीर प्रश्न उठाएको छ।

संवैधानिक मर्यादा र राजनीतिक निष्पक्षतामाथि प्रश्न

भण्डारीले राष्ट्रपतिका रूपमा कार्यकाल पूरा गरेपछि उनीसँग संवैधानिक–राजनीतिक जीवनको नयाँ मानक स्थापित गर्ने अवसर थियो। तर, उल्टै उनले सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने संकेत दिँदै राजनीतिक पक्षपातपूर्ण क्रियाकलापमा सहभागी हुनु, सार्वजनिक टिप्पणी गर्नु र विशेष पार्टी नेताहरूको समर्थन गर्नुजस्ता कार्य गर्न थालेकी छन्। यो पूर्वराष्ट्रपतिलाई अपेक्षित गरिने तटस्थता र मर्यादाको उल्लङ्घन हो।

उनको राष्ट्रपतिकालमा पनि संविधानको भावना विपरीत शक्तिको एकपक्षीय प्रयोग, जस्तै संसद विघटनको समर्थन, अध्यादेश जारी गर्ने प्रक्रियामा सरकारको सिधा पक्षपोषण, जस्ता कार्यहरू विवादित बनेका थिए। यस्तो पृष्ठभूमिमा पुनः सक्रिय राजनीतिमा फर्कनु भनेको भूतपूर्व पदको दुरुपयोगको निरन्तरता मात्र हो। यसले नागरिकमा लोकतान्त्रिक संस्थाप्रति निराशा जन्माउँछ।

भण्डारीको पुनरागमनले राजनीतिक संस्कृतिमा शुद्धिकरणको सट्टा पुनः पुनरावृत्ति झल्काउँछ। राष्ट्रपतिले जीवनभर निष्पक्षताको प्रतीक रहनुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिनुपर्ने हो, तर उनको कमब्याकले सत्ता प्राप्तिका लागि कुनै पनि संस्था प्रयोग गर्न सकिन्छ भन्ने विकृत शिक्षा दिन्छ।

देशमा नयाँ पुस्ता, नयाँ नेतृत्व र नयाँ राजनीतिक संस्कृतिको अपेक्षा भइरहेका बेला पूर्वराष्ट्रपतिको पुनरागमनले त्यही पुरानै सत्ताको पुनरावृत्ति, व्यक्तिकेन्द्रित राजनीति, र रणनीतिक चालबाजीको संकेत दिन्छ। यसले लोकतन्त्रलाई जनताको विकल्पबाट होइन, सत्ताधारी व्यक्तिहरूको स्वार्थबाट निर्देशित हुने परिपाटीमा लैजान्छ।

सामाजिक सञ्जालबाट असन्तोष

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्किएको घोषणा गरेकोप्रति सयौं सर्वसाधारणदेखि समाजका प्रतिष्ठित व्यक्तिहरुले पनि गुनासो गरेका छन् । सम्मानित पदका पुगेको व्यक्ति फेरि दलगत राजनीतिमा आउँदा गलत परम्पराको विकास हुने उनीहरुको तर्क छ ।

यसै शिलशिलामा क्याप्टेन विजय लामाले भण्डारी सक्रिय राजनीतिमा फर्किएको सुन्दा नमज्जा र दुःख लागेको उल्लेख गर्दै यो पूर्वराष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको विशिष्ट व्यक्तिको साँघुरो सोच भएको पनि बताएका छन्।

पूर्वराष्ट्रपति भण्डारी शनिबार मात्र आफू सक्रिय राजनीतिक जीवनमा फर्किएको घोषणा गरेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारीको यो निर्णयले क्याप्टेन लामाले दुःख व्यक्त सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा फर्कन लागेको भन्ने सुन्दा साह्रै नमज्जा अनि दुख लाग्यो । यदि सत्य हो भने एक हैन दुई दुई काल राष्ट्रपति भएर बसिसक्नु भएको अनि सम्पूर्ण नेपालीको भैसकेको भन्ने महसुस भएन तपाइलाई ? कठै कस्तो साँघुरो सोच !’

लामाले भण्डारीको निर्णयबाट अझै पनि नेपालीले आफ्नै राष्ट्रपति पाएको रहेनछ भन्ने थाहा भएको पनि बताएका छन् । ‘फेरि खुम्चिनु लाग्नु भएको हो एउटा पार्टीको मात्र बनेर ? अब हामी सबैलाई थाहा भयो कि हामी नेपालीले हाम्रो आफ्नै राष्ट्रपति पाएका रहेन छौँ भनेर !’