काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधव कुमार नेपालबारे सार्वजनिक रुपमा नबोल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । आइतबार एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न भनेका हुन् ।
‘परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ । तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न र नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ,’– विज्ञप्तिमा भनिएको छ ।
पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अध्यक्ष नेपाल विशेष अदालतबाट ३५ लाख धरौटीमा छुटेका थिए ।
पार्टीले हालैको बैठक वा अनौपचारिक छलफलमार्फत यस्तो आन्तरिक नीति लिएको बताइएको छ।
पूर्वप्रधानमन्त्री नेपालकाे विशेष अदालतमा थुनछेक बहससमेत भइसकेको छ।
एकीकृत समाजवादीमा अध्यक्ष लगायत केही नेतामाथि भ्रष्टाचार मुद्दा लागेसँगै अर्ली महाधिवेशनको पनि कुरा उठेको छ । पार्टी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष नेपाललक्षित गर्दैै अब मरेको सिनो बोकेर हिड्न नसकिने बताएकी थिईन् । शनिबार लुम्बिनीमा नेतृ झाँक्रीले यस्तो बताएकी हुन् ।
‘म त भन्छु अर्ली महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो’, उनले भनेकी थिइन्, ‘कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’
उनले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष नेपालतिर लक्षित गर्दै भनिन्, ‘यही नाममा यो जञ्जालभित्र हाल्ने हो भने हामीले यो दु:ख पनि नगरौँ । यस्तै संकटहरूबाट हामी उठनुपर्छ तपाईं-हामी सबैलाई थाहा छ । अध्यक्षकैबारे संकट आएको छ । अब के गर्ने त हामीले, पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने होइन । अर्ली महाधिवेशन गरेर पार्टी पुनर्गठन गरौँ ।’