काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको अध्यक्ष माधवकुमार नेपाल लक्षित भनाइले तरंग ल्याएको छ ।
शनिबार लुम्बिनीमा नेतृ झाँक्रीले दिएको कडा अभिव्यक्तिले पार्टीमा तरंग ल्याएको हो । उनले पार्टीलाई अब पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । यसका लागि ‘अर्ली महाधिवेशन’ को माग समेत राखिन् ।
‘म त भन्छु अर्ली महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो’, उनले भनेकी थिइन्, ‘कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’
उनले यदि काँधमा मरेको सिनो हालेर हिँडिरहने हो भने पार्टी धेरै छिटो विघटन हुने बताइन् । ‘काँधमा मरेको सिनो हालेर हिँड्न सकिदैन, नत्र यो पार्टी धेरै छिटो विघटन हुन्छ’, उनले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष नेपालतिर लक्षित गर्दै भनिन्, ‘यही नाममा यो जञ्जालभित्र हाल्ने हो भने हामीले यो दु:ख पनि नगरौँ । यस्तै संकटहरूबाट हामी उठनुपर्छ तपाईं-हामी सबैलाई थाहा छ । अध्यक्षकैबारे संकट आएको छ । अब के गर्ने त हामीले, पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने होइन । अर्ली महाधिवेशन गरेर पार्टी पुनर्गठन गरौँ ।’