काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्यासको व्यावसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताएका छन् ।
मङ्गलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले दैलेखमा मिथेन ग्यासको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताए । यसको परीक्षण उत्पादन मङ्सिर भित्रमा सम्पन्न हुने बताए । यसको सदुपयोग पनि गरिने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘दैलेखमा मिथेन ग्यासको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने काम थालेका थियौँ, सफल भएको छ । यसको परीक्षण उत्पादन मङ्सिर भित्रमा हुनेछ । यसको व्यावसायिक उत्पादन सम्भवतः आगामी आर्थिक वर्षभित्र भइसक्नेछ । सदुपयोग पनि गरिनेछ । ’
प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा ऐन छिटो पारित गर्नेतर्फ सरकार अग्रसर रहेको बताए ।
उनले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्दै आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने टिप्पणी समेत गरे ।