राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको बैठकमा मंगलबार पनि विरोध जनाउने भएको छ।
सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा विरोध कायमै राख्ने निर्णय गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।
आन्तरिक छलफलपछि यस्तो निर्णय लिएको उनले बताए ।
उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बनाएको छानबिन समिति पनि झारा टार्ने काम गरेको ठहर गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।
भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसद्को कामकारबाही बहिष्कार गर्दै आएको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ।