आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, असार १० २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकरप्रसाद सुवेदीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सोमुद्दामा सुवेदीका साथै तृप्ति शाही ठकुरी भन्ने तृप्ति शाही र कुमारी बैंकका एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

उनीहरूले २०८० साउन १ देखि २०८१ साउन ३२ गतेसम्मको अवधिमा संकलन भएको ३४ लाख ३ हजार ८५६ रुपैयाँ राजस्व मध्ये ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्रै अस्पतालको खातामा दाखिला गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आयोगले सुवेदी र शाही विरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ र ​मगरविरुद्ध २४ लाख २ हजार ९० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

साथै आयोगले बिगो बमोजिम जरिवाना र बिगो असुल उपरको मागदाबी पनि गरेको छ ।