काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको एक मन्त्रीले जानकारी दिए ।
समितिको सदस्यमा गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरी पुस्कर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई लगायत रहेका छन् ।
यस अघि सरकार पक्ष र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रबीच २ बुँदे सहमति भएको थियो ।
जसमा भिजिट भिसा प्रकरण छानविनका लागि एक महिना भित्र समिति गठन गरिने सहमति भएका थियो । पछिल्ला केही दिन यता प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले उक्त समिति गठनका लागि १ महिना नकुर्न सुझाउँदै आएको थियो ।
यता रास्वपा र राप्रपा भने गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गर्दै आएका छन् ।
सोमबार मन्त्रिपरिषद बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक घण्टा लामो छलफल गरेका थिए ।
उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखकलाई लिएर देउवा बालुवाटार पुगेका थिए ।
बालुवाटार स्रोतका अनुसार उनीहरुबीच बजेट पारित गर्ने, टेक एण्ड पे फिर्ता लिने र भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने लगायत विषयमा छलफल भएको थियो।