काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आाज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।
बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए ।
उनले सरकारले नै मानव तस्करीलाई संरक्षण गरेको आरोप लगाउँदै गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदमा विरोध जारी रहने जानकारी गराउँदै बैठक बहिस्कार गर्ने जानकारी दिए ।
तर सभामुखले बैठकलाई नियमित कार्यसूचीमा प्रवेश गराएपछि रास्वपा र राप्रपा सांसदहरुले बैठक कक्षबाट बाहिरिएका छन् । यी दुवै दलहरूले आजको बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै यसअघि रास्वपा वेल घेराउ र नाराबाजी गर्दै आएको थियो भने राप्रपा जेठ १३ गतेदेखि निरन्तर संसद् अवरोध र बहिस्कार गर्दै आइरहेको छ । तर, आज रास्वपा पनि राप्रपा जस्तै बैठक बहिस्कार गरेर बाहिरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
त्यस्तै, युवा तथा खेलकुद, भौतिक पूर्वाधार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिनेछन् ।