बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अमला रोकालाई आज पनि अदालतमा उपस्थित गराइँदै

सोमबार, असार ९ २०८२

काठमाडौं । सुन प्रकरणकी प्रतिवादी अमला रोकालाई आज पनि अदालतमा उपस्थित गराइँदैछ ।

शुक्रबार प्रहरीले टोखाबाट गिरफ्तार गरिएकी रोका आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको थियो ।

आइतबार न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहस भएको थियो । बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर रोकालाई प्रहरी हिरासतमा पठाइएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) अन्तर्गत आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आज कार्यालय समय सुरु हुनेबित्तिकै रोकालाई जिल्ला अदालतमा उपस्थित गराइने छ । आज उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेमध्ये आदेश आउन सक्ने बताइएको छ ।

२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचबाट शंकास्पद सुन बाहिरिएपछि यो घटना बाहिर आएको थियो । राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गरेको अलग अलग अनुसन्धानबाट पनि अमलाको सक्रिय संलग्नता पुष्टि भएको थियो ।

उनी माओवादी केन्द्रकी रोल्पाकी नेतृ पनि हुन्। ठमेलमा होटल भियना चलाएर बसेकी अमला र उनका पति दावा छिरिङ सुन तस्करीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेपछि उनी फरार रहेकी थिइन।

प्रहरीले उनका विरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो।

उनी विदेशतिर भागेको आशंका गरिए पनि टोखामा फ्ल्याट लिएर बन्दोबस्तीका साथ बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

अमलाका पति दावा छिरिङ सुन बरामद भएको १२ औँ दिनमा पक्राउ परेका थिए ।