काभ्रेपलाञ्चोक । यहाँको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ ।
रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी उत्पादिन भएका तरकारी सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको हो ।
केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको रु २५ लाख र पाँचखाल नगरको रु नौ लाखको साझेदारी गरिएको थियो । पाँचखालका नगरप्रमुख महेश खरेलका अनुसार विशेषगरी एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) प्रविधिबाट उत्पादन गरिएका तरकारी सङ्कलन गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो ।
“केन्द्रमा सङ्कलन गरिएका कृषि उपजको प्याकेजिङ, ब्राण्डिङ र सर्टिङ गरेर राजधानी काठमाडौँ आपूर्ति गर्ने उद्देश्य राखेका छौँ”, खरेलले भने । अग्र्यानिक तरकारी उत्पादनले पाँचखालमा उत्पादन भएका तरकारीबारे दशकौँदेखि गरिएको दुष्प्रचार मेटाउन सफलतातर्फ उन्मुख भएको उनको भनाइ छ । अब हाटबजार सञ्चालनार्थ प्रक्रिया अघि बढाइने खरेलले बताए ।
केन्द्रको जापान सरकारको अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकी, नगरप्रमुख खरेल र लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीले सयुक्त रूपमा शनिबार शुभारम्भ गरे । केन्द्रले नगरमा विषादीरहित तरकारी उत्पादनमा सहयोग पुग्ने जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकीले बताए ।