आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

तीन प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै

बिहिबार, असार ५ २०८२

काठमाडौँ, । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिएको जानकारी अनुसार बुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौँ बाहिर रहेकाले आजका लागि सारिएको हो ।

बुधबार सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री ओली, एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस सभापति देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस महामन्त्री गगनकुमार थापा, कांग्रेस केन्द्रीय सदस्यहरू, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का सहभागी भिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारको कामकारबाहीलाई अझै प्रभावकारी बनाउने, संसद्मा रहेका शिक्षासहितका महत्वपूर्ण विधेयकलाई ऐन निर्माणका लागि अघि बढाउने, जनताका गुनासो सम्बोधन हुने गरी काम गर्ने सन्दर्भमा छलफल भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानविन आयोगको माग राख्दै संसदमा रास्वपा र राप्रपाले संसद अवरोध गरिरहेका छन्। बैठकमा संसद अवरोध, निजामती सेवा विधेयकमा राख्ने भनिएको कुलिङ पिरियडका साथै गठबन्धनलाई प्रभावकारी ढंगले अघि बढाएर जानेबारे पनि छलफल भएको थियो ।