आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मितेरी सहकारी ठगी प्रकरण : कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

बिहिबार, असार ५ २०८२

काठमाडौं । ललितपुरको मितेरी सहकारीको रकम अपचलन प्रकरणमा फरार रहेका आरोपी ज्योतिबहादुर भण्डारी पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो ।

रेड कर्नर नोटिस समेत जारी भएका भण्डारीलाई इन्टरपोलमार्फत कम्बोडियामा पक्राउ गरि बुधबार राति नेपाल ल्याइएको हो । त्यसका लागि एसपीको कमान्डमा नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो ।

भण्डारीलाई काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाइएको छ ।

मितेरी सहकारीको ठगी प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ ।

भण्डारी यस ठगी प्रकरणमा प्रमुख आरोपी हुन् । बर्दिया घर भएका भण्डारी समेतले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

अर्कै मुद्दामा भण्डारी कम्बोडियामा पक्राउ परेका थिए । उक्त मुद्दामा छुट्न लागेकाले इन्टरपोलको सहयोगमा उनलाई नेपाल ल्याइएको स्रोतले जानकारी दिएको छ।

सोही सहकारीको रकम अपचलनमा कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी ज्योती गुरुङविरुद्ध पनि नोटिस जारी भएको छ। तर उनी भने अहिलेसम्म पक्राउ परेकी छैनन्।