काठमाडौं । शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र पेस गरेर नियुक्ति लिएको आरोपमा सबइन्जिनियर दिपेन्द्रकुमार झा भनिने दिपेन्द्र कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन सबइन्जिनियर झाविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार झाले सबइन्जिनियर पदमा करार नियुक्ति लिने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत पश्चिमाञ्चल क्याम्पस, पोखराबाट प्राप्त भएको देखाइ डिप्लोमा इन सिभिल इन्जिनियरिङको शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रजस्ता कागजात पेश गरेका थिए । अनुसन्धानका क्रममा ती कागजात नक्कली भएको पुष्टि भएको आयोगले जनाएको छ।
उनले सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० अनुसार कैद र जरिवाना मागदाबीसहित मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।