काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत डा. केशव श्रेष्ठले आफूलाई अन्यायमा पारिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमै सुसाइड नोट लेखेर सम्पर्कविहीन भएका छन् ।
रामेछापकै कर्मचारी केदार कार्कीले मागेको पैसा नदिदा अनि भनेको कार्यालय सहयोगीलाई जागीर नलगाउदा आफूले कारवाही गरेका डाक्टरहरू लाई प्रयोग गरी झूठा आरोपहरू लगाएर आफ्नो सरुवा गराएको श्रेष्ठले उल्लेख गरेका छन् ।
रामेछाप अस्पतालबाट हेटौँडा सरुवा गरिएका श्रेष्ठ आइतबार बिहान करिब साढे १० बजेतिर फेसबुकमा ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका हुन्।
यतिबेला उनको उक्त पोस्ट सामाजिक सञ्जालमा भाइरल छ। आफन्त, प्रहरीलगायत सम्बन्धित निकायले उनको खोजी गरिरहेका छन्। तर, उनी भने सम्पर्कमा आएका छैनन्।
‘बदलाको भावनाले प्रतिशोध साधेर मेरो बिरुद्ध पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड़न बाध्य बनाइयो,’ उनले लेखेका छन्, ‘मैले बुझबुझारथ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरेकोलाई गाड़ीमा रामेछाप पठाईयो । मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अलपत्र पारे । सरुवा गरिएको छ हेटौडा अस्पतालमा, तर हाजिर गराईएको छ मन्त्रालयमा । मलाई धेरै दु:ख दिए, अहिले यो दुख/पीडा सहन अनि सोचन पनि सकेको छैन । मैले जिन्दगीबाट नै हार खाएँ । कतैबाट केही साथ/सहयोग पाउन सकिनँ ।’
आफूले न्याय पाउने आधार नदेखेपछि मृत्यु स्वीकार्न लागेको भन्दै उनले फेसबुकमा सुसाइड नोट लेखेका हुन् ।
उनको खोजीमा काठमाडौं, हेटौंडा र रामेछापमा प्रहरी परिचालन भएका छन् । तर, अहिलेसम्म केही पनि पत्तो लागेको छैन । श्रेष्ठको फोनमा सम्पर्क हुन नसकेको र उनकी पत्नीको फोन पनि नउठेको प्रहरी स्रोतले बतायो ।