काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नैतिकताको कुरा गर्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै संसद् अवरोध गरिरहेका बेला उसैमाथि नैतिकताको प्रश्न उब्जिएको छ ।
भिजिट भिसा प्रकरणमा जेठ १३ गतेदेखि गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले संसद अवरुद्ध पार्दै आएको छ । माओवादी केन्द्रको पनि साथ रहेको यस विषयमा आइतबार बाहेक सबै बैठक रोकिएको थिए । तर, आइतबार भने प्रतिनिधि सभा बैठक चलेको थियो । विगत झै हिजो माओवादी केन्द्रले रास्वपालाई साथ दिएन । माओवादीले सरकारसँग २ बुँदे सहमति गरेसँगै उसले संसद अवरोधको कार्यक्रम फिर्ता लिइसकेको थियो । अर्को प्रतिपक्ष दल एकीृकत समाजवादीले पनि विरोध गर्न छाडेको छ ।
आईतवारको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसद्हरुले नाराबाजी गरे। यद्यपि, रास्वपाका विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद् अगाडी बढाएका थिए। अन्तत रास्वपाका सांसद वेल घेराउ गर्दै नाराबाजी गरिरहे । उनीहरुले वेलको अगाडि पलेंटी मारेर विरोध जनाएका थिए । विरोधमा साथ दिएको राप्रपाले भने वेल घेराउमा साथ दिएन । बरु संसद बैठक चलिरहँदा राप्रपाका सांसद बैठक हल छाडेर हिँडेका थिए ।
आईतवारको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नैतिकताको पाठ सिकाउन मिल्छ भन्दै प्रश्न गरे ।
उनले ५ वटा मुद्दा भोगेर कारागारमा रहेका रवि लामिछाने नै रास्वपाको सभापति भएको निर्वाचन आयोगको अभिलेखमा उल्लेख भएको भन्दै आपत्ति जनाए । उनले अरूसँग नैतिकता खोज्ने रास्वपाका सांसदहरूले आफैँभित्रबाट नैतिकताको उदाहरण प्रश्तुत गर्न आग्रह समेत गरे।
घिमिरेले रास्वपाको संसदीय दलको नेता समेत परिवर्तन भएको कुरा नबाहिरिएको बताउँदै रास्वपाको संसदीय दलको नेतामा अहिले पनि निलम्वित सांसद लामिछाने नै रहेको जिकिर गरे । उनले निलम्बित व्यक्तिलाई संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकता सिकाउनु जायज नहुने धारणा राखे ।
यस्तै प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्द सांसद नागिना यादवले पनि रास्वपा माथि प्रश्न उठाइन् । सांसद यादवले भनिन्, ‘सहकारी मात्र होइन नागरिकता र पासपोर्ट काण्डमा उहाँको पद नै गएको थियो । काण्डै काण्डले भरिएका यस्ता गन्हाउने व्यक्तिको नेतृत्वमा बस्ने यी सांसदले नैतिकताको पाठ कसलाई पढाउने ?’ लामिछानेलाई गन्हाएको व्यक्तिभन्दा रास्वपा सांसदहरू आक्रोशित बनेका थिए । यादवले भिजिट भिसा प्रकरणमा कर्मचारीले गल्ती गरेको कुरामा गृहमन्त्रीलाई मुछ्न नमिल्ने पनि बताएकी थिइन् ।
मानव तस्करलाई कारबाही गर भनेर संसदमा रास्वपाले लगाएको नारा उपसभामुख इन्दीरा राना तिर सोझिएको चर्चा चलेको छ । राना रास्वपाबाट उपसभामुख बनेकी हुन् । उनले अमेरिकन दूतावासमा विभिन्र व्यक्तिलाइ भिसा मिलाइदिन लेखेको चिठीको विषय यसअघि सार्वजनिक भएको थियो । त्यसताका उनकाे राजीनामाकाे विषयले संसदमा चर्चा पाएकाे थियाे ।
विभिन्न सहकारीबाट गैरकानुनीरूपमा रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने यतिबेला रुपन्देही जिल्ला कारागार कार्यालयमा थुनामा छन् ।
हिजोमात्र पनि वीरगञ्जमा रहेको सानो पाइल सहकारीमा रकम अपचलनमा उनीमाथि अर्को मुद्दा दायर भएको छ । लामिछानेले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अपचलन भएको कुल रकममध्ये व्यक्तिगतरूपमा ऋण लिएको १ करोड ५० लाख र उनी गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालक/प्रबन्ध निर्देशक/शेयर सदस्यमा बहाल रहँदाको अवधिमा लिएको १० करोड ६ लाख ९४ हजार रूपैयाँ सहित कुल ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो कायम गरिएको छ ।