आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

परराष्ट्रमन्त्रीले भनिन् : प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद्

शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएको उल्लेख गर्दै कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्ने बताएकी छन् ।

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग बिहीबार भएको टेलिफोन कुराकानीलाई धम्की भनी नागरिक पत्रिकामा आएको समाचारको खण्डन गर्दै उनले स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने आफ्नो बुझाइ भएको उल्लेख गरेकी छन् । यसैका आधारमा राखिएका कतिपय धारणालाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद् भएको उनको भनाइ छ ।

“नागरिक दैनिकमा आफ्नो विषयमा समाचार  प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु”, उनले भनिन्, “हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासयसहित  सामाजिक सञ्जालमा आएको तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणका बारेमा उनीसँग कुराकानी भएको हो ।”

नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन नमिल्ने समेत उनले स्मरण गरेकी छन् ।

‘बरु मैले म आफु नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ। तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।’ उनले भनेकी छन् ।