काठमाडौं । चैत १५ मा तीनकुने भएको राजाबादीको प्रर्दशनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ । साथै साेही प्रकरणमा थुनामा रहेका ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश भएकाे छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले यस्तो आदेश दिएको हो । साँझ ५ बजे नै थुनछेक बहस सकिए पनि रातिमात्रै आदेश सार्वजनिक भएको थियो ।
तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने आजको आदेशमा केही उल्लेख छैन ।
अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ लाई थुनामा पठाउन आदेश गरेको छ ।
२०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा पूर्व राजाको पक्षमा प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा सरकारी वकिलले ५० जनाविरुद्ध राज्यविरुद्ध समेतको कसुरमा जेठ ११ मा अभियोजन गरेको थियो । तीमध्ये दुर्गा प्रसाईंसहित ३९ जना प्रहरीको हिरासतमा थुनामा थिए ।
दुर्गा प्रसाईँ समर्थक युवा समूह एटिएफमा आबद्ध हरिहर चौलागाईं लाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भिम’लाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
प्रसाईंविरुद्ध सरकारले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिएको थियो।