काठमाडौं, २८ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक) प्रदीप परियारलगायत ७ जनाउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।
अख्तियारको आरोपपत्रमा ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको भनिएको छ । अख्तियारले परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाललाई प्रतिवादी बनाएको छ ।
अख्तियारले परियारविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।
यस्तै, सार्वजनिक सम्पत्तिको हिनामिना वा दुरुपयोग गरेको कसुरमा आठदेखि १० वर्षसम्म कैद सजाय दाबी अख्तियारले गरेको छ । महानगरको प्रमुख प्रशासकीय भएकामा थप तीन वर्षसम्म कैद सजायको दाबी पनि अख्तियारले गरेको छ । परियार महानगर मेयर बालेनका विश्वासिला मानिन्थे ।
ठेक्काको बोलपत्र मूल्यांकन समितिमा संलग्न चारजना निर्देशक रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य र नमराज ढकाललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । यस्तै, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि मुद्दा दायर भएको छ ।
उनीहरूविरुद्ध पनि जनही चार करोड ३१ लाख ७२ हजार रुपैयाँ बिगो र आठ देखि १० वर्षसम्म कैद सजाय दाबी गरिएको छ ।
सहायक निर्देशक दाहालबाहेक अरू कर्मचारीलाई गलत प्रतिवेदन दिएकामा तीन महिनादेखि एक वर्षसम्म कैद र १० देखि ५० हजारसम्म जरिवानाको दाबी पनि अख्तियारले गरेको छ ।