काठमाडौं । एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्ष पदका दुवै उम्मेदवार प्रकाश पौडेल र डा सुजन कडरियाले पहिलो मतदान गर्दै निर्वाचन प्रक्रियाको सुरुवात गरेका छन् ।
निर्वाचन समितिका अनुसार ४३ वटा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान हुँदैछ । आज बेलुका ४ बजेसम्म लाइन बस्नेले मतदान गर्न पाउने समितिले जनाएको छ ।
महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलका अनुसार बिहान साढे ९ बजेबाट सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्नेछ ।
बुधबार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएसँगै विद्युतीय मेसिनहरूमा उम्मेदवारका नामहरू समावेश गरिसकिएको थियो ।
अध्यक्ष पदका लागि पौडेल र डा. कडरिया बीच मुख्य प्रतिस्पर्धा छ । खुला उपाध्यक्ष पदमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, र गणेशबहादुर शाही मैदानमा छन् ।
यस्तै महिला उपाध्यक्ष पदका लागि सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराई प्रतिस्पर्धामा छन् ।
निर्वाचन समितिका अनुसार महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।
महासचिव पदमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।
निर्वचनमा ५२१ जना उम्मेदवार रहेका छन् ।
मतदान सकिएको १ घण्टा पछि मतगणना सुरु हुने र आज राति नै मतपरिणाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।
जेठ २५ देखि २७ सम्मका लागि तय गरिएको अनेरास्वबियुको कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलन सर्वसम्मत बनाउने कि निर्वाचन भन्ने बिषयमा बिवाद भइ लम्बिन पुगेको हो ।