बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संवैधानिक निकायमा ५२ पदाधिकारीको नियुक्ति विरूद्धको रिटमा निर्णय सुनाउन पेशी चढ्यो

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निर्णय सुनाउन पेसी चढेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा पेसी चढेको हो ।

संवैधानिक निकायमा भएको नियुक्तिको विवादमा गत माघ ३० गतेदेखि सोही इजलासमा सुनुवाइ भएको थियो। जेठ १ गतेको इजलासले जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश दिएको थियो।

त्यस्तै जेठ २८ गते निर्णय सुनाउने भनेर तोकेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा अध्यादेशमार्फत ऐन संशोधन गरी गरिएका नियुक्तिविरूद्ध रिट दायर भएको थियो।

अध्यादेश र नियुक्तिविरूद्ध वरिष्ठ अधिवक्ताहरू ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी लगायतले छुट्टाछुट्टै रिट दिएका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले परिषदको कानुन दुई पटक अध्यादेशमार्फत् संशोधन गरेर दुवै पटक नियुक्ति गरेका थिए।

ओली नेतृत्वको सरकारले पहिलो पटक २०७७ मंसिर ३० सिफारिस गरी माघ २१ गते ३२ जना र दोस्रो पटक २०७८ वैशाखमा सिफारिस गरी असार १० मा २० गरी ५२ संवैधानिक पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो।

तत्कालीन प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएर संवैधानिक पदाधिकारी नियुक्ति गरेका थिए।