आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पत्रकारितामा आलोचनात्मक भन्दा विश्लेषणात्मक चेत हुनुपर्छ : प्रधानमन्त्री

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारितामा आलोचनात्मक चेत भन्दा विश्लेषणात्मक चेतले हुनुपर्ने बताएका छन् । साथै पत्रकारिताले परपीडक नभइ सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने उनको धारणा छ ।

मंगलबार रातोपाटी डटकमको १२औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, “झुटमुटमा क्रिटिकल हुनुपर्दैन, निष्पक्ष हुँदा पुग्छ, आलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ, एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ, मान्छे मन परेन भने पनि आफ्ना लागि सत्य कुरा लेख्नुपर्छ । आफ्ना लागि सत्य बङ्याइहाल्ने खालको प्रवृत्ति हुनुहुँदैन ।’

हालका केही मिडियाले आफ्नो स्वार्थका लागि मान्छे मन नपरेकै कारण सत्यलाई बङ्याएर लेख्ने र भन्ने गरेको उनको गुनासो थियो । त्यसकुराबाट रातोपाटी अनलाइन टाठा रहेको भन्दै उनले यसका सम्पादकलगायत टिमको प्रशंसा समेत गरे ।

प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा समाज, विश्व र सम्बन्धमा तीव्र गतिका साथ परिवर्तन भएका बेला लगातारको मित्रता राखेर रातोपाटी अघि बढ्न सकेकामा प्रशंसा समेत गरे । “इमानदारको खडेरी देशमा पर्नु हुँदैन । कसैले आफ्ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ ?” प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले पत्रकारिताले राम्रोलाई राम्रो भन्न र नराम्रोलाई नराम्रो भन्नसक्नु पर्ने विचार व्यक्त गरे । आफूलाई मन नपरेकै कारण राम्रा कुरालाई पनि नराम्रो भन्नु उचित नहुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापनसहित सुझाव दिनुपर्ने आवश्यकता रहेको पनि बताए ।

समारोहमा प्रधानमन्त्री ओलीले माओवादी जनयुद्धमा लागेर सहासिक योगदान गर्ने देवी खड्कालाई पचास हजार नगद पुरस्कारसहित सम्मान समेत गरेका थिए।

त्यस्तै उनले संविधान संशोधन किन र के मा ? विषयक पुस्तकको अनावरण एवं सार्वजनिक गरे । प्रधानमन्त्री ओलीले विमोचित पुस्तकले संविधान संशोधनसम्बन्धी छलफल र बहसलाई सहज बनाउने छ, भन्ने विश्वास व्यक्त गरे ।