आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बालेनविरुद्ध अख्तियारमा उजुरी

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई फ्रान्स भ्रमणको जानकारी दिन आग्रह गरेको छ ।

गत वर्ष जेठमा फ्रान्स भ्रमणमा जाँदा उनको सचिवालयका सदस्यहरूलाई पनि कर्मचारीको रूपमा सहभागी गराएको विषयमा अख्तियारले जानकारी दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

फ्रान्स फिल्म फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुन मेयर साह गत वर्ष फ्रान्स गएका थिए । त्यतिबेला मेयर साहले फिल्म फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका थिए ।

फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुखका रूपमा सहभागी भएका थिए । मेयर साहले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको पनि अवलोकन गरेका थिए ।

साहको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरेको थियो । गत २०८१ जेठ १ गते फ्रान्स गएका साह ७ जेठमा नेपाल आएका थिए । त्यहाँ जाँदा उनले सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रूपमा सहभागी गराएको विषयमा अख्तियारमा उजुरी परेपछि सो विषयमा जानकारी दिन आग्रह गरेको हो ।

यता महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा काठमाडौं महानगरद्वारा गरिएका विभिन्न खर्चहरूमा व्यापक प्रश्न उठाएको छ ।​

कान्स फिल्म फेस्टिभल भ्रमणमा गरेको खर्चबापतको २० लाख ४९ हजार १६५ रुपैयाँ भुक्तानी अनियमित भएको महालेखाले जनाएको छ ।

यसका अलावा सोही भ्रमणका लागि भुक्तानी गरिएको थप २ किस्ताको १ लाख ४७ हजार ७०६ र ६२ हजार ५३१ रुपैयाँ रकम पनि अनियमित रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यपालिकाको २०८१ साल असार १० गतेको स्वीकृत निर्णयानुसार बालेन र उनका सल्लाहकार सुनिल लम्सालले गरेको ब्राजिल भ्रमणको हवाई भाडा १० लाख २३ हजार रुपैयाँ पनि अनियमित रहेको महालेखाले जनाएको छ ।