आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रतिनिधिसभाको बैठक बस्दै, के गर्ला प्रतिपक्ष ?

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।

‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक-पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि नेकपा माओवादी केन्द्र,रास्वपा लगायत प्रतिपक्षी दलहरुले संसद्मा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएकामा माओवादी भने केही लचिलो भएको छ ।

संसद्को गतिरोध अन्त्यका लागि प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँच बुँदे प्रस्ताव अघि सारेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी नेपाल सरकारले पूर्ण सहयोग र सहजीकरण गर्नुपर्ने प्रस्ताव रास्वपाकाे छ ।