काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन हुने भएको छ ।
निर्वाचन समितिले मंगलबार निर्वाचन तालिका सार्वजनिक गर्दै बुधबार मतदान हुने जानकारी दिएको हो ।
बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरे पनि सहमति नजुटेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।
अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि नाम प्रस्ताव गरेपछि असन्तुष्ट समूहले त्यसमा असहमति जनाउँदै निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै नाराबाजी गरेकाे थियाे ।
यसपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
उम्मेदवारको दर्ता फारम मंगलबार ३ देखि ५ बजेसम्म वितरण गर्ने तथा ४ देखि ६ बजेसम्म दर्ता गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ । मतदान बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म हुने तालिकामा जनाइएको छ ।

