काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले नाराबाजी गरेका छन् ।
कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दावी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई हुँदा अध्यक्ष मण्डलबाट उनकै नाम प्रस्ताव गरिएको छ ।
यस्तै उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दिपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव भएको थियो ।
पार्टी हाइ कमान्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयन गर्न अध्यक्षमण्डलका नेताहरूलाई निर्देशन गरेसँगै यी नाम प्रस्ताव गरेका हुन् ।
अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले कडरिया अध्यक्षसहित अन्य पदाधिकारीको नाम अगाडि सारेका हुन् ।
अध्यक्ष मण्डलले प्रस्ताव गरेको नामप्रति अरु आकांक्षीले सहमति जनाएका छैनन् । उनीहरुले निर्वाचनको माग राख्दै नाराबाजी गरेका छन् । नाराबाजी गरेपछि अहिले बन्द सत्र स्थगित गरिएको छ ।
अखिलमा कडरियासहित प्रकाश पौडेल, दिपक धामी, अन्जना शिवाकोटी, आरती भट्टराई अध्यक्षका दाबेदार हुन् ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन काठमाडौंको कीर्तिपुरमा जेठ २५ गतेबाट सुरू भएको छ । जसको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
