काठमाडौं । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को सक्रियता देखिएको छ। सार्वजनिक पदमा रहेर भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने जिम्मेवारी बोकेको यो संवैधानिक निकायले विगतमा भन्दा केही सशक्त रूपमा काम गरिरहेको देखिन्छ।
अख्तियारले गत बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि योग पीठको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपालले मन्त्रिपरिषद्बाट कानुन मिचेर पतञ्जलिलाई जग्गा बिक्री गर्न स्वीकृति दिएकोले भ्रष्टाचार मुद्दा दायर गरिएको हो । ३१४ रोपनी जग्गा गैरकानुनी रूपमा बिक्री गरिएको र यसमा पूर्वप्रधानमन्त्री नेपालको संलग्नता देखिएको अख्तियारको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री नेपालसमेतको संलग्नता देखिएको जिकिर गर्दै बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
तत्कालीन प्रधानमन्त्री नेपालविरुद्ध बिहीबार विशेष अदालतमा दायर भएको मुद्दामा नेपालले मन्त्रिपरिषद्मा ठाडो प्रस्तावमार्फत कानुनी प्रक्रिया नपुगी पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टाको स्वीकृति दिलाएको अख्तियारको दाबी छ ।
अख्तियकारको पछिल्लो समयको सक्रियताले विभिन्न सरकारी निकाय, कर्मचारी, र राजनीतिज्ञहरूलाई अनुसन्धानमा तान्न थालेको छ, जसले आम नागरिकमा केही हदसम्म आशा पलाएको देखिन्छ।
यसै सन्दर्भमा, अख्तियारले हालैका दिनहरूमा मालपोत कार्यालय, नापी कार्यालय, स्थानीय तह, तथा विभिन्न विकास आयोजनाहरूमा भएको अनियमिततामाथि छापा मारी अनुसन्धान अघि बढाएको छ।
अख्तियारले सोमबार मात्रै विशेष अदालतमा पाँचवटा भ्रष्टाचार मुद्दा दर्ता गर्यो । आइतबार पनि तीनवटा मुद्दा दर्ता भएका थिए । पछिल्ला तीन दिनमा अख्तियारले आठवटा मुद्दा दायर गरेको छ ।
सोमबार नेपाल बैंक लिमिटेडका तत्कालिन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध एकैसाथ तीनवटा छुट्टाछुट्टै घुस मुद्दा दायर भए ।
उनीमाथि बैंकबाट ऋण दिँदा घुस लिएको आरोप थियो । अख्तियारले उनको खाता परीक्षण गर्दा सेवाग्राहीबाट घुसको रकम ट्रान्स्फर गरेको समेत भेट्टाएको थियो ।
यस्तै गत आइतबार आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अर्यालसहित पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल, प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठलाई समेत प्रतिवादी बनाएर आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको दाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो कायम गरिएको छ ।
यस्तै आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
टेरामक्स घोटालामा काँग्रेस नेता बस्नेत संलग्न भएको उल्लेख गर्दै केही दिन अघि विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएकाे हो । बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएकाे छ ।
यसैबीच धेरैजसो कारबाहीमा सेवाग्राहीसँग अवैध रकम लिँदै गरेका कर्मचारीहरू रंगेहात पक्राउ परेका छन्। अख्तियारकाे याे कामले सरकारी कार्यालयमा व्याप्त सानोदेखि ठूलो स्तरको भ्रष्टाचार सतहमा ल्याउने काम गरेको छ।
अख्तियारले केही ठूला केसहरूमा पनि अनुसन्धान अघि बढाएको छ। केही प्रदेशका पूर्वमन्त्रीहरू, सरकारी आयोजना प्रमुखहरू, र ठेकेदारहरूको मिलेमतोमा भएको अनियमितता, गुणस्तरहीन निर्माण कार्य, तथा अनावश्यक बजेट बाँडफाँटमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउने प्रयास देखिएको छ। साथै, अख्तियारले सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुचित ढंगले आर्जन गरिएको सम्पत्तिको छानबिनलाई पनि गति दिएको छ।