बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देशभित्र घुमफिर गर्न एमालेसँग मैले अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी

मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले देशभित्र घुमफिर गर्न एमालेसँग अनुमति लिइरहनु नपर्ने बताएकी छन् ।

पूर्वी नेपालबाट काठमाडौं फर्किने क्रममा मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

आफ्नो राजनीतिक जीवन नै एमालेबाट शुरू भएकाले सक्रिय राजनीतिमा आउँदा स्वाभावैले एमालेमै आउने पनि उनले बताइन्।

‘म देशको राष्ट्रपति भइसकेको मान्छे, पार्टीगत हिसाबले भन्ने हो भने पनि मैले संगठित सदस्यता लिनुभन्दा अगाडि देखि नै पार्टीमा काम गरेको । चिनजान ठूलै छ, समाजका अरु अरु क्षेत्रहरुमा पनि चिनजान हुन्छ । देशको परिचित व्यक्ति भएको नाताले मलाई कार्यक्रममा बोलाउनु स्वाभाविकै हुन्छ । त्यसकारण मैले पनि समाजसँग पनि साक्षात्कार भेटघाट गर्दै गर्नुपर्‍यो ।’ उनले भनिन्, ‘केछ जनताको विचार आकांक्षाहरु, नयाँ पुस्ता के चाहन्छन् ? राष्ट्रिय आकांक्षालाई साकार गर्न हामी लाग्नुपर्छ, त्यो हाम्रो परम कर्तव्य हो । बाँचुन्जेल हामीले संघर्ष गर्नुपर्छ नयाँ पुस्ताको लागि र देशको लागि । त्यस हिसाबले म देशभित्र घुमफिर गर्न नेकपा एमालेका कमिटीहरु र नेताहरुसँग मैले अनुमति लिइरहनु पर्दैन ।’

एमालेको भाबी अध्यक्षकारूपमा गुटगत राजनीति शुरू गरेको भन्ने एमाले भित्रकाे चर्चाबारे पत्रकारको प्रश्नमा भने पूर्व राष्ट्रपतिले  इन्कार गरेकी छन् ।

उनले आफूले कुनै गुटगत राजनीति नगरेको बताउँदै अस्ति अनेरास्ववियूको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नै ताकेर भनेको जस्तो नलागेको समेत बताइन् । उनले भनिन्, ‘अरू आकांक्षीको मनमा त्यसखालको प्रश्न उठेको होला । मैले त त्यस्तो आकांक्षा राखेको छैन । जहाँ जसरी हुन्छ काम गर्ने हो ।’