आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अमेरिकाबाट डिपोर्ट भएका थप ४० जना नेपालीलाई आज फर्काइँदै

आइतबार, जेष्ठ २५ २०८२

काठमाडौं । अमेरिकाले थप नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाउँदैछ । उनीहरुलाई आज चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काउन लागेको हो । डिपोट गरिएका नेपालीहरु सवार चार्टर्ड विमान आज ४ः १५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

नेपालको अध्यागमन कार्यालय स्रोतका अनुसार आज अमेरिकाबाट डिपोट भएर आउनेहरु करिब ४० जना रहेका छन् । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिएको थियो । तर, पछि केही नेपालीहरु रोकिएको बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् बरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले पनि अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आज अपराह्न काठमाडौं आउन लागेको पुष्टि गरे । तर, उनले केही दिनअघि नै डिपोट गरिएको भनेर पत्र आएको बताउँदै भने, ‘यसरी फर्किनेहरुको संख्या भने यकिन छैन ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिकी सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ ।

डिपोर्ट भएर आज काठमाडौं अवतरण गर्न लागेका नेपालीहरुलाई भने के कारणले डिपोर्ट गरिएको हो भन्ने व्यवहोरा पत्रमा स्पष्ट खुलेको छैन । प्रवक्ता न्यौपानेका अनुसार आज आउन लागेका नेपालीहरु अमेरिकाको इमिग्रेसन कानुन उल्लंघन गरेकाले डिपोर्ट गरिएको भन्ने व्यहोराको पत्र अध्यागमनलाई प्राप्त भएको छ ।

हालसम्म १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट नेपालीहरुश्र डिपोर्ट हुने श्रृंखला ट्रम्प सत्तामा आउनुभन्दा अगाडि पनि थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।