आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बिलखबन्दमा राजावादीहरू

बिहिबार, जेष्ठ २२ २०८२

काठमाडौँ । बुधबार काठमाडौँमा आयोजित राजावादी भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन नआएपछि कार्यक्रममा असन्तोष र होहल्ला भएकाे थियाे।  धेरै समर्थकहरू उनी आउने आशामा भेलास्थलमा भेला भएका थिए। तर, अन्तिम समयमा लिङ्देनको अनुपस्थितिले समर्थकहरूमा निराशा छायो।

उनको नआएको खबर सार्वजनिक भएपछि केही सहभागीहरू आक्रोशित भए। नाराबाजी सुरु भयो, नेता मुखौटा हुन्, लिङ्देन धोकेबाज जस्ता। भिडमा केही व्यक्तिहरूले आयोजकमाथि असन्तुष्टि जनाउँदै अव्यवस्था सिर्जना गरे। राजावादी आन्दोलनको मुख्य दल राप्रपा नै सहभागी नभएपछि अन्य विभिन्न घटकले होहल्ला गरेका हुन् । त्यसपछि ‘बूढाहरुबाट केही हुँदैन’ भन्दै युवाहरुले छुट्टै भेला पनि गरेका थिए ।

लिङ्देनको अनुपस्थिति र प्रतिक्रियाले राप्रपाभित्रको विभाजन र राजावादी आन्दोलनको कमजोर समन्वयलाई उजागर गरेको छ। यस घटनाले राजावादी आन्दोलनमा विश्वासको संकट र नेतृत्वको प्रश्न पनि उठाएको देखिन्छ। यदि यस्ता भेलाहरू स्पष्ट उद्देश्य र नेतृत्वविना भइरहे, त्यसले आन्दोलनलाई अझ कमजोर बनाउन सक्छ।

एक होटलमा भएको बैठकमा राजावादी समूहबीच नै तनाब हुँदा बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गर्न नै सकेन । सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेता सहभागी भए पनि होहल्ला भएपछि उनीहरूले बोल्ने परिस्थिति नै बनेन । सुवेदी र थापाले समेत होहल्लालाई शान्त बनाउन सकेनन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरे । उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरेका थिए ।

नवराज सुबेदीले आन्दोलनको नेतृत्व गर्न नसकेको भन्दै आक्रोश पोखेका थिए ।

यसअघि उनीहरूले पाँच दिनसम्म काठमाडौंमा आन्दोलन गरेका थिए । पहिलो दिनको आन्दोलनमा मानिसहरुको उल्लेख्य सहभागीता भएपनि त्यसपछिका दिन सोच अनुसारको जनसहभागिता नभएपछि मंगलबार पहिलो चरणको आन्दोलन समाप्त गरिएको थियो ।

बुधबार आन्दोलनको समीक्षा र अर्को चरणको आन्दोलन घोषणा गर्ने भन्दै बैठक बोलाइएको थियो । तर, बैठकमा होहल्ला भएपछि राजावादीहरु नै बिलखबन्दमा परेका छन् ।