काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरिएको छ।
मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन्।
‘चित्तबुझ्दो जबाफ नआएपछि निलम्बन गरिएको हो,’ उनले भने, ‘नयाँ जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ।’
चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गत सोमबार पाण्डेले आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गर्दै स्पष्टीकरण बुझाएका थिए।
मेयर बालेन्द्र साह (बालेन) को मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएको, प्रमुख प्रशासकीय कार्यालयमा ताला लगाएको, गाडीको ह्वील लक गरेको, हाजिर पुस्तिका कब्जामा लिने र जनप्रतिनिधिसँग अमर्यादित व्यवहार गर्ने लगायतका आरोपमा उनलाई सातवटा स्पष्टीकरण सोधिएको थियो ।
स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ । प्रशासकीय अधिकृत गुरागाईंले मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐनबमोजिम गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाको लागि निलम्बन गरिएको हो ।