आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदै

आइतबार, जेष्ठ १८ २०८२

काठमाडौं । नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन ।

भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।

नेवार समुदायमा ऋतुअनुसारको चाडपर्वअनुसारका पकवान खाने प्रचलन रहेको छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ । त्यस्तै पर्वमध्ये एक हो सिथि नखः पर्व । सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् ।

नेवार समुदाय कला संस्कृति र सांस्कृतिक मनोरञ्जनका पारखी हुन् । उनीहरु वर्षभरि अनेकथरी कला, सांस्कृतिक झाँकी र चाडपर्व मनाउने गर्दछन् तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन् ।

नेवारीमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात् ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवस्थामा किसानलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा डा श्रेष्ठको कथन रहेको छ ।