काठमाडौं । चीनको भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी र चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता भएको छ ।
साताव्यापी भ्रमणमा क्रममा चीनको गान्सु प्रान्त पुगेकी भण्डारीले शनिबार चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेकी हुन्।
भ्रमण टोलीमा रहेका नेकपा एमालेका नेता कर्णबहादुर थापाका अनुसार उनीहरूबीचको भेटमा दुई देशबीचको कूटनीतिक स्तर र पार्टीस्तरीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो । चीन भ्रमणमा रहेकी भण्डारीले गरेको यो भेट सबैभन्दा महत्वपूर्ण भेट रहेको नेताहरूले बताएका छन् ।
त्यस्तै, गान्सु प्रान्तका पार्टीका उपप्रमुख रेन जेन्हेसँग पनि पूर्वउपराष्ट्रपति भण्डारीले भेट गरेकी थिइन् । उक्त भेटमा नेपाल, चीन तथा गान्सु प्रान्तको आपसी हित र सम्बन्धका विषयमा छलफल भएको थापाले जानकारी दिए। पूर्वराष्ट्रपति भण्डारीलाई गान्सु प्रान्तका मुख्यमन्त्रीले रात्रि भोजको आयोजनासमेत गरेका थिए ।
यसअघि उनले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसँग भेटवार्ता गरेकी थिइन् । भण्डारीले राष्ट्रपतिको हैसियतमा ११ देखि २० वैशाख ०७६ मा चीनको राजकीय भ्रमण गरेकी थिइन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन गएकी थिइन् ।

यस्तै, राष्ट्रपति रहँदा भण्डारीको निमन्त्रणामा चिनियाँँ राष्ट्रपति सी जिनपिङले २५–२६ असोज ०७६ मा नेपालको राजकीय भ्रमण गरेका थिए । राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीको यो पहिलो भ्रमण हो । बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा उनको सहभागिता रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी र विदेश मन्त्रालयद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद कार्यक्रममा सहभागी हुन इण्डोनेसिया, लाओस लगायतबाट वरिष्ठ नेताहरू पनि चीन आइपुगेका छन् ।
पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल शनिबार उच्च गतिको रेलमा गान्सु प्रान्तकै जियायुगुआन भ्रमणमा गएको छ ।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलमा पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्णबहादुर थापा, सांसद देवी भट्टचन, पूर्वसांसद गोमा देवकोटा, सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट, मदन भण्डारी फाउन्डेसनका डा कैलाशकुमार भण्डारी, डा भेषराज अधिकारी, विनय केसीलगायत समाजका विभिन्न क्षेत्र र उनको निजी सचिवालयका गरी १५ जना सहभागी छन् ।