काठमाडौं । बिहीबार राजधानी काठमाडौंमा दुई समूहको शक्ति प्रदर्शन थियो । एउटा गणतन्त्र पक्षधर नेकपा एमालेको र अर्को राजावादी समर्थक समूहहरुको । अझ भनौं एउटा वर्तमान व्यवस्थाको पक्षधर र अर्को व्यवस्थाको विरोधी राजतन्त्रको पक्षधर ।
जेठ १५ लाई एक पक्षले उत्सवका रुपमा लिएको थियो भने अर्को पक्षले आन्दोलका रुपमा । चाहे जेभएपनि १५ गतेलाई दुवै पक्ष आफ्नो शक्ति प्रर्दशनका रुपमा रोजेका थिए ।
एमाले त्यसमाथि सरकारकाे नेतृत्व नै गरेको दल राम्रै शक्ति प्रदर्शन गर्ला भन्ने अनुमान थियो । त्यसमाथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नै ‘काठमाडौं कब्जा’ गर्न गरेको उर्दीका कारण पनि यो जनचासोको विषय बनेको थियो । तर एमालेले अनुमान गरेजति शक्त्ति प्रदर्शन गर्न सकेन वा गर्न चाहेन । कि राजावादीले भने झै उसको पक्षमा अहिले जनता छैनन् । त्यसको नतिजा पछि नै आउला ।
अहिले सामाजिक सञ्जालमा दुवै पक्ष आआफ्ना र प्रतिपक्षका तस्वीर पोस्ट गर्दैछन् । तस्वीर राख्दै उनीहरुले एक अर्का समूहबीच व्यङ्य गरेको पाइन्छ । सामाजिक सञ्जाल र संचारमाध्यममा आएका केही तस्वीरहरु झट्ट हेर्दा राजावादी समूहको भिड एमालेका भन्दा ठूलो हो की भन्ने देखिन्छ । हुन पनि किन नहोस् यथार्थ धरातलमा रहेर विश्लेषण गर्ने हो भने राजावादीहरु भएसम्मका सम्पूर्ण समूह, राजधानी बाहिरबाट पनि झिकाइएका अझ भर्नौं देशभरका कार्यकर्तासहितको शक्ति प्रदर्शन, यता एमालेको राजधानीमै उपलब्ध नेता कार्यकर्ता मात्र सहभागी कार्यक्रम । त्यसमाथि दिउँसोको चर्को घाम ।
आन्दोलनमा कस्का मान्छे कति थिए भन्ने कुरा निर्कोल त्यो पछि होला। तर तस्बिरमा देखिएको जस्तो न कसैको कार्यक्रमस्थल त्यति खाली थियो न त तस्बिरमा देखाइएको जस्तो कसैको कार्यक्रममा जनसागर नै उर्लिएको थियो।
जनता कता छन् ? भन्ने कुरा वास्तवमा सडकको भिडलाई लिएर मूल्यांकन गर्नु कति सान्दर्भिक होला ? भिड भित्र के कस्ता र के कति कारणले मानिस आएका हुन्छन् भन्ने कुरा यहाँ भनिरहनु नपर्ला । जनमत मापन गर्ने लोकतान्त्रिक माध्यम मानिएको निर्वाचनमा यसको यर्थाथ रिजल्ट देखिने हुन्छ । बेलाबेला सडकमा देखिने राजावादीको भिड जस्तो चुनावी परिणाममा देखिएको पाइँदैन । भर्खरै गत मंसिरमा सम्पन स्थानीय तहको उपनिर्वाचनले पनि त्यसको वास्तविकता नदेखाएको पक्कै होइन ।
पोखराबाट काठमाडौं आउँदा पूर्वराजाको स्वागतमा समर्थकहरूको उपस्थितिले हौसिएका राजावादी दल तथा समूहले यतिबेला राजसंस्था पुनर्स्थापनाको मागसहित अनिश्चितकालीन आन्दोलनमा छन् ।
गणतन्त्र रक्षाका लागि भनेर गरिएको प्रदर्शन फितलो भएको, जनता परिवर्तनको पक्षमा छन् भन्ने सन्देश गएको राजावादीले विश्लेषण गरेका छन् । त्यतिमात्र होइन उनीहरुले बिहीबारको उत्साहजनक उपस्थितिबाट परिवर्तन सम्भव छ भन्ने सन्देश गएको ठहर्याएका छन् । गणतन्त्रको उत्सव मनाउने भन्दा यसको विरोधमा उत्रिनेहरू कयौं गुणा बढी देखिएको भन्दै उनीहरु यो आफ्नो नैतिक जित भएको भन्दै हौसिएका छन् ।