काठमाडौं । सरकारले एकै पटक १० जना सचिवहरूको सरुवा गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका १० जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
जेठ १२ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मंगलबार सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवको सरुवा गर्ने निर्णय भएको जानकारी दिए ।
प्रवक्ता गुरुङका अनुसार राष्ट्रपतिको कार्यालयका सचिव डा रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिवका रूपमा सरुवा गरिएको छ ।
यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोग सरुवा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या तथा प्रशासन सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।
लोक सेवा आयोगका सचिव डिल्लीराम शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) डा दीपक काफ्लेको राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणी पौडेलको शिक्षा मन्त्रालय सरुवा भएको छ ।
वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशमा प्रमुख सचिवका रूपमा कार्यरत माहादेव पन्थको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सरुवा भएको उनले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा प्रमुख सचिवका रूपमा कार्यरत रघुराम विष्टको महालेखा नियन्त्रकका रुपमा महालेखा नियन्त्रक कार्यालय र अतिरिक्त समूहका सचिव शोभाकान्त पौडेलको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा प्रमुख सचिवका रूपमा सरुवा भएको छ ।
