काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भिजिट भिसा सेटिङ प्रकरणमा नाम मुछिएपछि गृहमन्त्री रमेश लेखक यतिबेला चर्चामा छन् । सत्तारुढ दलहरुले निर्दोष सावित गरिरहँदा प्रतिपक्षी दलहरुले भने उनको राजीनामा मागिएका छन् ।
सत्तारूढ गृहमन्त्रीको दल नेपाली कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले पनि मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको छ ।
उसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्षसमेत निकालेको छ ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा प्रकाशशरण महतले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताए । उनले गृहमन्त्रीले उक्त प्रकरणमा आफ्नै संलग्नता नरहेको र कुनै गल्ती नरहेको बताएपछि काँग्रेसले उनको कुरालाई पूर्ण रूपमा विश्वास गरेको बताए ।
अख्तियारले गत बुधबार विमानस्थलस्थित अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो।
अध्यागमनमा संस्थागत र संगठित रूपमा भिजिट भिसाको सेटिङ बढेको सूचना संकलन गरी आयोगले छापा हानी हाल अनुसन्धान गरिरहेको छ। आयोगले अनुसन्धान थालेको एक साता नहुँदै पार्टीले गृहमन्त्री लेखकलाई ‘क्लिनचिट’ दिएको हो।
कांग्रेसकै नेताहरू डा शेखर कोइरालालगायतले समेत नैतिकताका आधारमा भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने सार्वजनिक रूपमा बताइसकेका छन्। यस्तै नेपाली कांग्रेस कै सांसद सुनिल शर्माले पनि गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सघाउनु पर्ने मत व्यक्त गरेका छन् ।
गृहमन्त्रीलाई काँग्रेसको पदाधिकारी बैठकले क्लिन चिट दिएर हुँदैन : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । अन्य प्रतिपक्षी दलहरूले समेत गृहमन्त्रीको राजीनामाको माग चर्काउने भएका छन् ।
रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्री लेखक विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो ।
सोमवार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सांसद मनिष झाले आफूहरु संसदीय अभ्यासमा अनुभवी भइसकेको बताउँदै गृहमन्त्री को नाम भिजिट भिसाको प्रकरणमा संलग्नता रहेको कुरा सञ्चारमाध्यममा आइरहेको भन्दै बैठकमा सो बारेमा छलफल भएको बताए ।
साथै, भिजिट भिसा प्रकरणमा कर्मचारीले गल्ती गरेको भनेर गृहमन्त्री लेखकले आफ्नो संलग्नता स्वीकार गरिसकेको उनको दाबी छ । नेता झाले कर्मचारीले बदमासी गर्यो भनेर मन्त्री लेखकले उन्मुक्ति नपाउने बताए ।
विगतमा कुनैपनि प्रश्न उठ्दै गर्दा नेताले राजीनामा दिएर प्रक्रियालाई सघाउनुपर्छ भन्ने दृष्टान्त, व्याख्याहरु वर्तमान गृहमन्त्रीले बिर्सिएको बताए ।
संसदमा गृहमन्त्री लेखकलाई जवाफ दिएर लुसुक्क हिँड्ने काम गर्न नदिने बताए। काँग्रेसको पदाधिकारी बैठकले आरोपको क्लिन चिट दिन नमिल्ने उनले तर्क गरे ।