काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भिजिट भिसा सेटिङ प्रकरणमा नाम मुछिएपछि गृहमन्त्री रमेश लेखक यतिबेला चर्चामा छन् । सत्तारुढ दलहरुले निर्दोष सावित गरिरहँदा प्रतिपक्षी दलहरुले भने उनको राजीनामा मागिएका छन् ।
यो विषयमा सत्तारूढ दल कांग्रेस र एमालेको पार्टी बैठकमा समेत छलफल भएको छ । एमालेको आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकलाई अनावश्यक रूपमा मुछेको भन्दै बचाउ गरेका थिए । आरोपले मात्रै सबै कुरा निर्धारण नगर्ने र गृहमन्त्री लेखकमाथि लागेको आरोपबारे सम्बन्धित निकायले अनुसन्धान गर्ने एमालेको निष्कर्ष छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना एवं प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कर्मचारी पक्राउ हुँदैमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बताएका छन् ।
चर्चा भएको विषयमा सुरुमा छानविन हुन दिनुपर्ने उल्लेख गर्दै प्रवक्ता गुरुङले भने, ‘अध्यागमन (इमिग्रेसन) मा जे खालको अनियमितता भयो भनेर छानविन भएको छ, छानविन हुन दिनुहोस् । एउटा सहसचिव तीर्थ भट्टराई पक्राउ पर्छ, गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्ने हुन्छ र ?’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणबारे छानविन भइरहेको पनि उनले जानकारी दिएका छन् ।
यस्तै सत्तारूढ अर्काे दल नेपाली कांग्रेसकाे आज बिहान बसेको पदाधिकारी बैठकले पनि मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको छ ।
उसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्षसमेत निकालेको छ ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा प्रकाशशरण महतले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताए । उनले गृहमन्त्रीले उक्त प्रकरणमा आफ्नै संलग्नता नरहेको र कुनै गल्ती नरहेको बताएपछि काँग्रेसले उनको कुरालाई पूर्ण रूपमा विश्वास गरेको बताए ।
बैठकमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनी अभिव्यक्ति दिने आफ्नै नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग पनि उठेको छ ।
बैठकमा बोल्ने क्रममा नेताहरूले पार्टी भित्रैबाट गृहमन्त्री लेखकको राजीनामा मागिएकोप्रति आपत्ति जनाएका थिए । नेता डा शशांक कोइरालाले राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने धारणा आएको बैठकपछि पत्रकारलाई जानकारी दिएका छन् ।
तर, विपक्षी दल रास्वपालगायतले भने मन्त्री लेखकले राजीनामा दिएर यो प्रकरणमा अनुसन्धानमा सघाउनुपर्ने माग गरेका छन् ।
आज बिहान बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ ।’
स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ । प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’
यसअघि विपक्षी दल रास्वपाले समेत गृहमन्त्री लेखकको राजीनामा मागेको छ । रास्वपाले त भोलि जेठ १३ गते बस्ने प्रतिनिधिसभा बैठक चल्न नदिनेसम्मको चेतावनी दिएको छ । आइतबार केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै रास्वपाका प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणलाई लिएर अगाामी बैठक सामान्य नहुने बताएका थिए ।
भिजिट भिसा प्रकरणमा कर्मचारीले गल्ती गरेको भनेर गृहमन्त्री रमेश लेखकले आफ्नो संलग्नता स्वीकार गरिसकेको उनको दाबी छ । नेता झाले कर्मचारीले बदमासी गर्यो भनेर मन्त्री लेखकले उन्मुक्ति नपाउने बताएका थिए ।
‘पर्सी सदनमा हामी कसरी उपस्थित हुने र भर्खरै खुलेको भिजिट भिसा, मानव तस्करी काण्ड, त्यसमा वर्तमान गृहमन्त्रीको संलग्नता र उहाँले एउटा कुरा स्वीकारिसक्नुभयो कि कर्मचारीले बदमासी गर्यो भनेर । बदमासी त कर्मचारीबाटै हुन्छ नि । गृहमन्त्री गएर त त्यहाँ टाँचा लगाउन बस्नुहुन्न । उहाँको त्यही संयन्त्रले त बदमासी गर्छ । मन्त्री गएर एयरपोर्टमा बसेर टाँचा लगाउने हो र ? होइन नि । कार्यान्वयन हुने कर्मचारीबाटै हो,’– उनले भनेका थिए ।