'आफु बाँच्नको लागि आओ, आओ भन्दै सुरक्षाकर्मीको घेरा तोडी गाडी अगाडि बढाएको हुँ'
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले तीनकुने हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
उक्त घटनामा दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणालगायतलाई प्रतिवादी बनाइएको छ । प्रसाईँमाथि लागेको राज्यविरुद्धको कसुरको बयानमा उनले सबै दोष अरुमाथि खन्याएका छन् ।
उनले आफूले तिनकुनेस्थित रहेको खुल्ला चौरमा शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिई कार्यक्रमको घोषणा गरेको, घरमा तोडफोड तथा आगजनी गर्ने र गर्न लगाउने कार्यमा संलग्न नरहेको बयान दिएका छन् ।
प्रदर्शनमा जनकमाण्डर तोकिएका प्रसाईंले आफू तीनकुने पुग्नुअगावै कार्यक्रम स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भएको जिकिर गरेका छन् ।
प्रसाईंले भनेका छन्, ‘म कार्यक्रमस्थलमा आउनुभन्दा अघि नै अतिथिहरुलाई आसनग्रहण गराइ कार्यक्रम सुरु भइ राष्ट्रिय गान बज्न थालेपछि स्टेजमै टियरग्याँस र गोलीहरू चलेर मान्छेहरू भागदौड भइसकेको थियो, त्यस कारण कार्यक्रमस्थलमा मेरो कुनै भूमिका पनि भएन ।’
प्रसाईँले बयानका क्रममा घरमा आगलागि गर्ने, तोडफोड गर्ने मानिसहरु सतिश न्यौपाने, गोकर्ण शाही, डण्डपाणी रेग्मी, तारा राजावादी भन्ने सरोज गौतम, हेमराज थारु, सन्तोष राजावादी भन्ने सन्तोष सिलवालसमेतका मानिसहरु रहेको बताएका छन् । उनले हुलभीडको समुहलाई आपराधिक कार्य गर्न उक्साउने र तोडफोड गर्न लगाउने सन्तोष सिलवाल र उनको समूह रेको अराोप लगाएका छन् ।
प्रसाईँले मृतक सुरेश रजक र जाहेरवाला सुजन मगियासँग चिनजान, रिसइवी, लेनदेन र वादविवाद केही पनि नरहेको र कुनै दिन पनि देखेभेट र सम्पर्कसमेत नरहेको बताएका छन् । उनले आफूले कसैलाई पनि उत्तेजित बनाई तोडफोड तथा आगजनी गर्नको लागि निर्देशनसमेत नदिएको बयानमा उल्लेख छ ।
उनले भनेका छन्, ‘ सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोहरू हेर्दा रवीन्द्र मिश्र र डा. धवल शमशेर समेतको नेतृत्वमा संसद कब्जा गर्ने भनी हुलभीडको समूहलाई लिई बानेश्वरतर्फ जाँदा प्रहरीसँग झडप भएपछि उत्तेजित समूहले तोडफोड तथा आगजनी गरेको जस्तो देखिन्छ ।’
”…म भएको ठाउँबाट कार्यक्रम स्थलको मञ्च लगभग १५० मिटर जति दुरीमा थियो, म सोही मञ्च तिर अगाडि बढी रहेको र सोही समयमा मञ्च भएको स्थानमा भेला जम्मा भएका सर्वसाधारण मानिसहरु उक्त चौरबाट भाग दौड गरी रहेको, मञ्चमा धुवाको मुस्लो उडि रहेको, कोही भुईमा लडेको मैले देखे र सोही समयमा म आफु चढेको गाडीमा अश्रु ग्याँस प्रहार भई गाडीको डालामा नै झरेको र मेरो कानको नजिकबाट आवाज आई गोली गएको कारण मलाई लक्षित गरी विभिन्न व्यक्तिहरु घुसपेट गरी गराई कार्यक्रम स्थलको वरपर रहेका घरको छतमा अपरिचित मानिसहरु हतियार सहित बसेको मैले देखे पछि मलाई मार्ने योजना बनाएको भन्ने कुरा मलाई लागे पछि म गाडीको पछाडिको डालाबाट हाम फाली गाडी चलाई रहेको ड्राईभरलाई बाहिर निकाली उक्त गाडीको ड्राईभरको सिटमा म आफै बसी म आफ्नो ज्यान जोगाउन सुरक्षाको लागी सबै जना आओ, आओ भन्दै आफु बाँच्नको लागी सुरक्षाकर्मीको घेरा तोडी कार्यक्रममा आएका अन्य मानिसहरुलाई समेत बचाउन भनी अरुलाई समेत बोलाई। प्रहरीको घेरा भित्र जाने भनी गाडी मैले चलाई अगाडि बढाएको हुँ। मैंले गाडी अगाडि बढाउदा भिडियोमा देखिएको जस्तो र जाहेरीमा उल्लेख भए जस्तो तिब्र गतिमा कुदाएको छैन र मैले गाडीको ब्रेक हान्दै हाफ क्लोजमा प्रहरीलाई र अन्य कोही सर्वसाधारण मानिसहरुलाई चोट नलागोस भनी आफु सचेत भई अगाडि बढेको हूँ। डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुलाई घाउँचोट हुने गरी गाडीले पेलेर लगेको छैन । बोरू सो समयमा मेरो गाडीका सम्पूर्ण सिसाहरु, हेड लाईटहरु फुटाईएको छ। म आफु सुरक्षित हुनको लागी मात्र हतार गरी प्रहरीको घेरा भित्र गएको हुँ।” उनले भनेका छन् ।
हेर्नुहोस् प्रसाईंले दिएको बयानका केही भाग



