आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सरकार मौन बसेको फाइदा लिँदै राजावादीहरूले फुर्तिफार्ती देखाए, खुलेर प्रतिवाद गर्नुहोस् : प्रधानमन्त्री

सोमबार, जेष्ठ १२ २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका छन् ।

आईतवार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका छन् ।

वडाअध्यक्षहरुलाई प्रशिक्षणमा ध्यान दिन र त्यसपछि १५ गतेको कार्यक्रममा पूर्ण रूपमा समर्पित हुन निर्देशन उनको निर्देशन छ । उनले राजावादीहरू कुनै महान उद्देश्यका लागि लडिनरहेको उल्लेख गर्दै खुलेर प्रतिवाद गर्न जरुरी रहेको बताए ।

उनले राजावादीहरुले राजा प्राणभन्दा प्यारो छ भनेर नारावाजी गर्ने गरेको उल्लेख गर्दै वीरेन्द्रलाई हत्या गरेर मार्दा कहाँ गएका थिए ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘म साथीहरुलाई भन्न चाहन्छु, निर्देशन पछि आउला । १५ गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै तयारी थाल्नुस् । १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ । तपाईहरु जस्तो जे गर्नुपर्छ तयारी अवस्थामा बस्नुहोला । जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस् । प्रशिक्षण सिद्धिएपछि १५ गतेमा ध्यान दिनुस् । १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रणमा हुनुपर्दछ । कुन संस्था अगाडि लाग्छ, कसले के आयोजना गर्छ त्यो कुरा छोडिदिनुस् ।’

राजावादीहरुले जनता र सरकार मौन बसेको अवस्थाको फाइदा लिएर अनावश्यक फुर्तिफार्ती देखाएको उनको टिप्पणी छ ।

यता राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले धार्मिक तथा जनजागरण अभियान चलाइरहेको छ ।

काठमाडौंको जमल क्षेत्रबाट समितिले शनिबार धार्मिक तथा जनजागरण अभियान आरम्भ गरेको हो ।

कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरू छन् ।

अभियानका क्रममा संवैधानिक राजसंस्था र सनातन हिन्दूराज्य सहितको बहुदलीय प्रजातन्त्र कायम गर्नेसहितको जनआन्दोलनको लक्ष्यका बारेमा जनतासँग साक्षात्कार गरिने संयुक्त जनआन्दोलन समितिले जनाएको छ । जेठ १५ गतेदेखि सुरु हुने जनआन्दोलनमा सहभागिताका लागि आहृवान सहितको धार्मिक तथा जनजागरण घरदैलो अभियान गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राजसंस्था पुनःस्थापनाका लागि गठित जनआन्दोलन समितिले उपत्यकामा आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ । समितिले १५ जेठदेखि उपत्यकास्तरीय अनिश्चितकालीन आन्दोलन घोषणा गरेको छ ।