काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने कांग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुने छ । महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।
क्रियाशील सदस्यताबारे टुङ्गो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष हुने सम्भावना कमजोर बनेको छ । यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादबारे पनि छलफल हुने बुझिएको छ ।
अध्यागमन विभागमा सेटिङ मिलाएर दैनिक ५० लाख असुली गरेको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ । उनले भने आरोप अस्वीकार गर्दै मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रष्ट पार्ने बताइसकेका छन् ।
अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउपछि भिजिट भिसाको सेटिङमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरूको नाम मुछिनुका साथै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने पार्टीभित्रै र बाहिरबाट कुरा उठिरहेको बेला आज बस्ने पदाधिकारी बैठकले त्यसबारे पनि छलफल गर्ने अनुमान गरिएको छ ।