काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि बिहीबार सुनुवाइ हुने भएको छ ।
उनको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हेर्दाहेर्दैमा छ।
गत मंगलबारदेखि रिटमा सुनुवाइ सुरु भएको हो। बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा बस्नुपरेपछि सुनुवाइ हुन सकेको थिएन । आज सुनुवाइ अघि बढेको छ ।
आज सुनुवाइको सुरुमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्नेछन् । त्यसपछि पूर्वडीआईजी छविलाल जोशीका कानुन व्यवसायी तथा पीडित र सरकारी वकिलको बहस सुरु हुनेछ ।
गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै लामिछानेपत्नी पौडेलले गत ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। साथै, लामिछानेलाई थुनामा राख्ने उच्च अदालत, तुलसीपुर (बुटवल इजलास) को आदेशउपर परेको निवेदनमा पनि सँगै सुनुवाइ हुन लागेको छ। सो इजलासमा एउटै मात्र मुद्दा छ। सुनुवाइ सकेर आजै आदेश आउने सम्भावना छ।