काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।