काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि पेशीमा चढेको छ । प्रधानन्यायाधीस प्रकाशमान सिंह राउत स्वयंले रिटको सुनवाइ गर्ने भएका छन् ।
राउतसहित न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासले सुनवाइ गर्ने भएको छ । यसअघि पटक-पटक हेर्न नमिल्नेमा परेर सुनवाइ स्थगित हुँदै आएको थियो । वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा परेको थियाे ।
उनको रिट सोमबार भने ‘घ’ नम्बरमा रहेको छ । उनीभन्दा अघि भ्रष्टाचार र बन्दीप्रत्यक्षीकरणकै अन्य मुद्दा छन् ।
लामिछाने हाल भैरहवा कारागारमा छन् ।
सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशमा उनी पुर्पक्षका लागि थुनामा रहेका हुन् ।