आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गौतम बुद्ध विमानस्थल छानबिन गर्न गठित लेखा उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाँण

सोमबार, जेष्ठ ५ २०८२

काठमाडौं । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न गठित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी छन् ।

उपसमितिको आइतबार बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय लिएको समितिका सचिव तथा संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

उपसमितिमा एमालेका योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसका श्यामकुमार घिमिरे र मञ्जु खाँण, रास्वपाका मनिष झा, राप्रपाका विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यसअघि नेकपा एमालेका सांसद योगेश भट्टराईलाई संयोजकको जिम्मेवारी दिएकोमा उक्त जिम्मेवारी बहन गर्न उनले अस्वीकार गरेपछि संयोजकको पद रिक्त भएको थियो ।

भट्टराईले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नबस्ने बताएका थिए।

त्यसपछि उपसमिति सदस्यहरूमध्येबाट आइतबार कांग्रेस सांसद खाँणलाई संयोजक तोकिएको हो।