बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ : विष्णु रिमाल

शाक्यलाई दिए यस्ता सुझाव

आइतबार, जेष्ठ ४ २०८२

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै गरिएको छ ।
केहीदिनदेखि बिजुली आउने जाने गरेपछि सामाजिक सञ्जालमा व‍िद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यप्रति लक्षित विभिन्न टिप्पणी हुन थालेपछि एमाले नेता रिमालले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका नेता रिमालले निर्देशक हितेन्द्र शाक्यलाई कर्ममा अडिग रहन सुझाव दिँदै लेखेका छन्, ‘तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ। आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ। तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ।’

रिमाल थप भन्छन्, ‘देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन्। समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ। अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन—किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन। त्यसैले, सजग रहनुस्-काम गर्नुस्, तर ध्यान दिनुस्-कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्।’