बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पाथीभरामा केबलकार निर्माण गर्न बाटो खुल्यो

बिहिबार, जेष्ठ १ २०८२

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म थालिएको केवलकार निर्माणलाई अघि बढाउने बाटो खोलिदिएको छ ।

बुधबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै केबलकार निर्माण अघि बढाउने बाटो खुलेको हो ।

गत चैत ७ गते दायर रिटमा सर्वोच्चले चैत १३ गते हालसम्म भएका काम कारवाही तत्काललाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

यामबहादुर लिम्बूसमेतले पाथीभरा देवी दर्शन केबलकार, फुङलिङ नगरपालिका, नेपाल सरकार आदिलाई विपक्षी बनाइ २०८१ चैत ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

पाथीभरामा केवलकार निर्माण गर्नुपर्ने र निर्माण गर्न नहुने पक्षका बीच विवाद थियो ।

पाथीभरा मन्दिरमा जाने केवलकार निर्माण गरिनु हुन्न भनेर लामो समयदेखि पहिचान पक्षधरहरू आन्दोलन गर्दै आएका थिए । उनीहरूले पाथीभरालाई मक्कुमलुङ्गका नाममा विशेष आस्था राख्ने गरेका छन् ।

केवुलकार निर्माण गर्ने विषयमा पटक–पटक स्थानीय बासिन्दा, लगानीकर्ता र प्रहरी प्रशासन बीचमा झडप हुँदै आएको थियो ।केवलकार निर्माणको विरोध गर्नुको मुख्यकारण–मुन्धुम सभ्यतालाई आधार मानिएको छ ।

पाथीभरा दर्शन केवलकार प्रा.लीले पाथीभरामा जाने केवलकार निर्माण गर्ने अनुमति पाएको छ । सो कम्पनीलाई सरकारले केवल कार निर्माणका लागि ४.९७ हेक्टर जमिन दिने निर्णय गरेको छ ।

पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट मन्दिरसम्म २.७४ किलोमिटर दूरीमा केवलकार बन्नेछ । केवलकार निर्माणका लागि २ अर्ब ५५ करोड लागत अनुमान गरिएको छ । पाथीभरा दर्शन केबलकार प्रा .लिले भने सरकारी अनुमति प्राप्त भएकाले १३ महिनाभित्रमा केबलकार निर्माण सम्पन्न गर्ने बताउँदै आएको छ। सो कम्पनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको आइएमइ ग्रुपको हो ।