काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो ।
सिंहसहित १७ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो ।
मुद्दा दर्ता गर्दै ६० करोड बढी रकम बिगो मागदाबी गरिएको छ । यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने रायसहित फायल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको भए पनि महान्यायाधिवक्ताले मुद्दा चलाउने निर्णय गरेका थिए । महान्यायाधिवक्ताको निर्णयपछि अभियोग पत्र दायर गरेको हो ।
गणेशमान सिंहकी छोरी रिता सिंह नेपाल बाल संगठनको तत्कालीन अध्यक्ष थिइन् ।
यस्तै, तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेश भक्त श्रेष्ठ, तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमितिका संयोजक कृष्ण शंकर साह, बाल संगठनका तत्कालीन अख्तियार प्राप्त महासचिवद्वय श्यामकुमार आले र सुवास कुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ । पोखरेल कांग्रेस नेता हुन् ।
यस्तै, बाल संगठनकै तत्कालीन महासचिव रामकाजी गुरुङ, तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, वृहस्पति विद्यालय व्यवस्थापन प्रालिका सञ्चालक प्रवीणराज जोशी, सोही विद्यालयका तत्कालीन सञ्चालक मुरारी निधि तिवारी, विद्यालय व्यवस्थापन प्रालिका अध्यक्ष पुरुषोत्तम राज जोशी, सञ्चालक श्रद्धा संघाई, सञ्चालक अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्ति प्रसाद पाण्डेयविरुद्ध मुद्दा दर्ता भएको हो ।
उनीहरूले ठगी गरी नेपाल बाल संगठनलाई ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ ५ पैसा नोक्सानी पुर्याएको भन्दै सोहीबराबर बिगो कायम गरिएको छ ।